

बरियारपट्टी । बुबा र छोराको सम्बन्ध केवल रगतको नातामा मात्र सीमित हुँदैन, यो सम्बन्ध अनुशासन, जिम्मेवारी, प्रेम र उत्तरदायित्वको गहिरो भावनात्मक डोरीले बाँधिएको हुन्छ। बुबा आफ्नो छोरालाई राम्रो भविष्य दिन जीवनभर संघर्ष गर्छन्, तितो-मीठो अनुभवका साथ उसलाई सही मार्ग देखाउन कोसिस गर्छन्। अर्कोतर्फ छोरा पनि बुबालाई आफ्नो आदर्श मान्दै हुर्कन्छ, बुबाको अनुशासन र मूल्यहरूको अनुसरण गर्दै बिस्तारै आफ्नो पहिचान बनाउने प्रयास गर्छ।
बुबा जीवनको शिक्षक हुन्ज सको व्यवहार, परिश्रम, आत्म-संयम र त्यागबाट छोरोले जीवनको वास्तविक पाठ सिक्छ। बाल्यकालमा जब छोरो खेल्दै र मुस्कुराउँदै बुबाको काखमा आउँछ, त्यतिखेर बुबाले आफ्नो थकाइ बिर्सिन्छन्। जब छोरो ठूलो हुन्छ, उसले बुबाको संघर्षलाई बुझ्न थाल्छ र बिस्तारै आफूलाई घरको सहारा बनाउने कोसिस गर्छ।
यो सम्बन्धमा कहिलेकाहीं अनुशासन र स्वतन्त्रताबीच टकराव पनि देखिन्छ, तर अन्ततः माया, विश्वास र समझदारीले त्यो टकरावलाई समेटेर सम्बन्धलाई अझ बलियो बनाउँछ। जब छोरा बुबाको भावना र त्याग बुझ्न थाल्छ, तब उनीहरूबीच आत्मीयता अझ गहिरो हुन्छ। छोरा बुबाको उत्तराधिकारी मात्र होइन, बुबाको अधुरो सपना पुरा गर्ने माध्यम पनि हो।
बुबा र छोराको सम्बन्ध मानव जीवनको सबैभन्दा भावुक, प्रेरणादायी र गहिरो सम्बन्धमध्ये एक हो। यो सम्बन्ध विश्वास, परिश्रम, त्याग र प्रेमको सुन्दर समन्वय हो, जसले परिवारलाई मात्र होइन, समाज र राष्ट्रलाई पनि बलियो बनाउँछ।
जस कोसिसले जीवन चलिरहेको हुन्छ, त्यो प्रायः बुबाको श्रम र त्याग हो। बुबाले आफ्नो सारा जीवन परिवारको सुखका लागि समर्पित गर्छन्। बिहान सबेरै उठेर काममा जाने, थकाइले चुर भएर फर्कने तर कहिल्यै गुनासो नगर्ने बुबाको अनुहारमा लुकेको संघर्ष जब छोरोले बुझ्छ, तब उसले जीवनको सही अर्थ बुझ्न थाल्छ।
जुन छोरोले बुबाको यो त्याग र घरको समस्या बुझ्न थाल्छ, उसले बाल्यकालदेखि नै जिम्मेवारीको भाव सिक्छ। ऊ आफ्नो पढाइ, व्यवहार र भविष्यप्रतिको सोचमा गम्भीर बन्छ। यस्तो छोराले पैसा, नाम वा भौतिक सुखको लागि गलत बाटो रोज्दैन, किनभने उसलाई थाहा हुन्छ कि गलत बाटोले बुबाको मेहनत र परिवारको इज्जत दागिन्छ।
बुबाको पसिना सिञ्चिएको घर, आमाको आँसु र चुपचाप सहेर बस्ने दाजुभाइको सपना उसलाई सदैव प्रेरणा दिन्छ। यिनै कुराहरूले उसलाई अनुशासनमा राख्छन्, र जीवनका चुनौतीहरूलाई सामना गर्न प्रेरित गर्छन्। उसले आफ्ना गल्तीहरूबाट सिक्छ, संघर्षबाट नडराई अघि बढ्छ।
त्यसैले भनिन्छ जुन छोराले बुबाको मेहनत र घरको समस्या बुझ्छ, ऊ जीवनमा सफलता प्राप्त गर्छ, इमानदार बन्छ र समाजका लागि आदर्श पात्र हुन्छ। ऊ कहिल्यै गलत बाटो हिँड्दैन, किनभने उसले बुझेको हुन्छ सच्चाइ नै जीवनको वास्तविक मार्ग हो।
यस्ता छोरा समाजका गहना हुन्, जो बुबाको त्याग र घरको अवस्था बुझेर जिम्मेवार नागरिक बन्ने बाटो रोज्छन्।