सिरहाको सुखिपुरसहित देशभर २३ नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारको निर्णय
sssssss sss

 

बरियारपट्टी, २०८२ भदौ १० गते (मंगलबार)।   सेवाग्राहीलाई छरितो र सहज सेवा प्रवाह गर्न सरकारले देशभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ। यस अन्तर्गत मधेश प्रदेशको सिरहा जिल्लामा समेत सुखिपुर नगरपालिकामा नयाँ कार्यालय स्थापना हुने भएको छ।

गृह मन्त्रालय मातहत गठित कार्यदलले प्रस्तुत गरेको ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन’मा आधारित प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन समितिमा पठाएको हो। उक्त प्रस्ताव छलफलपश्चात कार्यान्वयनका लागि अघि बढाइने गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री रमेश लेखकले सेवाग्राहीको हैरानी अन्त्य गर्दै जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँच बीच देखिएको असमानता समाधान गर्ने सरकारको प्राथमिकता अनुसार नयाँ कार्यालय स्थापना गरिएको बताएका छन्।

सिरहा जिल्लाको सुखिपुर नगरपालिका भौगोलिक र जनसङ्ख्यात्मक हिसाबले महत्त्वपूर्ण क्षेत्र हो। यस अघि जिल्लाको सदरमुकाम सिरहा वा लहान पुगेपछि मात्र प्रशासनिक सेवा लिन सकिन्थ्यो। तर अब सुखिपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि आसपासका गाउँ–नगरपालिकाका बासिन्दालाई नागरिकता, सिफारिस, पासपोर्ट तथा अन्य प्रशासनिक सेवामा समय र खर्च दुबै बचत हुने अपेक्षा गरिएको छ।

स्थानीय सरोकारवालाहरूले यस कदमलाई सकारात्मक स्वागत गर्दै यसले राज्य र नागरिकबीचको दूरी घटाउने बताएका छन्। सुखिपुर क्षेत्रलाई शिक्षा, व्यापार तथा आवागमनको केन्द्रका रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा प्रशासनिक सुविधा थपिँदा यस क्षेत्रको विकास र जनसन्तुष्टि बढ्ने विश्वास गरिएको छ।

सरकारले थप गर्ने २३ वटा इलाका प्रशासन कार्यालय यसप्रकार छन् :–

१. सिरिजंगा, ताप्लेजुङ

२. हलेसी, खोटाङ

३. घोराखोरी, ओखलढुंगा

४. सुखिपुर, सिरहा

५. धनुषाधाम, धनुषा

६. वलरा, सर्लाही

७. पोखरिया, पर्सा

८. दुधौली, सिन्धुली

९. टोखा, काठमाडौं

१०. धो, डोल्पा

११. खत्याड, मुगु

१२. रास्कोट, कालिकोट

१३. कोल्टी, बाजुरा

१४. देउरा, बझाङ

१५. साफेबगर, अछाम

१६. विपिनगर, डोटी

१७. गोकुलेश्वर, दार्चुला

१८. मेलौली, बैतडी

१९. हेदङ्गवा, संखुवासभा

२०. गैडहवा, रुपन्देही

२१. भिमाद, तनहुँ

२२. सितगंगा, अर्घाखाची

२३. खैरहनी, चितवन

नयाँ इलाका प्रशासन कार्यालय स्थापनाले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रवाह हुने र लामो दूरीको झन्झट कम हुने अपेक्षा गरिएको छ। विशेषगरी सुखिपुर, सिरहा मा खुल्न लागेको कार्यालयले सिरहाकै एक महत्त्वपूर्ण क्षेत्रलाई प्रशासनिक दृष्टिले सबल बनाउन ठूलो टेवा पुर्‍याउने देखिन्छ।