राजनीति: उद्देश्य सेवा कि सत्ताको स्वाद……?
sssssss sss

 

बरियारपट्टी । राजनीति भन्नाले राष्ट्र, समाज वा कुनै संस्थाको शासन व्यवस्था, नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व प्रणालीसँग सम्बन्धित कार्यहरूलाई जनाइन्छ। यो एक यस्तो माध्यम हो जसबाट समाजमा रहनु भएका व्यक्तिहरूका आवश्यकता, इच्छा र समस्याहरूको समाधानका लागि योजना बनाइन्छ र ती योजनाहरू कार्यान्वयन गरिन्छ। राजनीति नीतिनिर्माणको प्रक्रिया मात्र नभई समाज रूपान्तरणको एक प्रभावशाली साधन पनि हो।

राजनीतिको मुख्य उद्देश्य जनताको हितमा कार्य गर्नु हो। यसले देशको शासन व्यवस्था कस्तो हुने, कानुन कसरी बन्ने, विकासका प्राथमिकता के हुने, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी लगायतका क्षेत्रहरूमा कसरी कार्य गरिने भन्ने कुरामा निर्णय गर्दछ। लोकतान्त्रिक प्रणालीमा राजनीति जनताबाट निर्वाचित प्रतिनिधिहरूको माध्यमबाट सञ्चालन हुन्छ, जहाँ जनताको मतद्वारा सरकार बनाइन्छ।

राजनीति सकारात्मक रूपमा प्रयोग भएमा समाजमा समानता, न्याय, स्वतन्त्रता र समृद्धिको स्थापना गर्न सकिन्छ। तर यदि गलत उद्देश्यले प्रयोग गरियो भने, यसले भ्रस्टाचार, विभाजन, दमन र अविकास ल्याउन सक्छ। त्यसैले राजनीति गर्नेहरूको नैतिकता, इमान्दारी र जनसेवाको भावना अत्यन्त महत्वपूर्ण हुन्छ।

राजनीति समाजसेवा र देश विकासको एउटा महान माध्यम हो। जब राजनीतिज्ञहरू जनताको विश्वास र माया जितेर इमान्दारिताका साथ अगाडि बढ्छन्, तब मात्र राजनीति पवित्र र प्रभावकारी हुन्छ। त्यसैले सचेत नागरिकले पनि राजनीति बुझ्न, निगरानी गर्न र सक्दो सक्रिय रूपमा सहभागी हुनुपर्दछ, ताकि राष्ट्र सही दिशामा अगाडि बढ्न सकोस्।

राजनीति भन्ने शब्द आफैंमा सेवा, नेतृत्व र समर्पणको भाव बोकेको हुन्छ। यो समाजमा सकारात्मक परिवर्तन ल्याउने एक प्रभावकारी माध्यम हो। तर आजको यथार्थमा राजनीति धेरै हदसम्म सत्ताको लिप्सा र व्यक्तिगत स्वार्थमा सीमित भएको देखिन्छ। जनताको सेवाको नाममा राजनीतिमा प्रवेश गर्नेहरू पनि पछि गएर स्वार्थपूर्ति र सत्ताको दौडमा सहभागी भइरहेका छन्। यद्यपि, राजनीति सत्ताको लागि होइन, सत्य र इमानदारीको लागि हुनुपर्छ भन्ने दृष्टिकोणले मात्र देश र समाजको समुन्नति सम्भव छ।

राजनीतिको मूल मर्म जनताको सेवा हो, न्याय स्थापना गर्नु, समाजमा समान अवसर सुनिश्चित गर्नु, तथा कमजोर वर्गको आवाज बुलन्द बनाउनु। तर वर्तमान अवस्थामा धेरै राजनीतिज्ञहरू पद, पैसा र प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन्। यस्तो प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा र अविश्वास पैदा गरिरहेको छ ।

राजनीतिमा सत्य र इमानदारी अपनाउने नेतृत्व नै राष्ट्रलाई सही दिशामा डोहोर्‍याउन सक्षम हुन्छ। सत्यमा अडिग रहन सक्ने र निजी स्वार्थभन्दा जनताको भलो प्राथमिकतामा राख्ने नेताले मात्र दीर्घकालीन रुपमा जनताको मन जित्न सक्छन्। इमानदारीले न केवल जनताको विश्वास जित्छ, बरु शासन प्रणालीमा पारदर्शिता र जवाफदेहिताको वातावरण पनि बनाउँछ।

देशको हितका लागि काम गर्ने नेताले आफनो स्वार्थभन्दा माथि उठ्न जान्नुपर्छ। साँचो राजनीतिज्ञ त्यो हो जसले आफनो सुविधा त्यागेर पनि जनताको सेवा गर्छ। राजनीतिमा प्रवेश गर्नु केवल कुर्सीको लागि होइन, जनताको जीवनस्तर उकास्नको लागि हुनुपर्छ।

नेल्सन मण्डेला, महात्मा गान्धी र गणेशमान सिंह  यी तीन नेताहरू इतिहासका त्यस्ता विभूतिहरू हुन्, जसले सत्ता, पद वा व्यक्तिगत लाभ होइन, जनताको सेवा र मुलुकको भलोका लागि आफ्नो जीवन समर्पित गरे। यिनीहरूको राजनीति निष्ठा, सत्य, त्याग र नि:स्वार्थ सेवामा आधारित थियो। यिनीहरूले देखाएको बाटो आजको राजनीतिमा अझै पनि प्रेरणादायी मानिन्छ।

राजनीति सत्ताको खेल होइन, राष्ट्र र जनताको जिम्मेवारी हो। सत्य, इमानदारी र समर्पणका साथ गरिएको राजनीति मात्र दीगो विकास, सुशासन र समावेशी समाज निर्माणको आधार बन्न सक्छ। आजको समय यस्तै इमानदार नेतृत्वको खोजीमा छ जो सत्ताका लागि होइन, सत्यका लागि होस्।